रौतहटको दुई ठाउँबाट विद्युतको ट्रान्सफर्मर चोरी

चैत्र ७ रौतहट___ जिल्लाको दुई ठाउँबाट विद्युतको ट्रान्सफर्मर चोरी भएको छ । रौतहटको परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको हो । विद्युत प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण सामग्री खोलेर लागेको अवस्थामा खोको भेटिएको बताइएको छ । स्थानीयहरुका अनुसार बिहान हेर्दा ट्रान्सफर्मरभित्र भएको विद्युतको तेल र तामा निकालिएको अवस्थामा भेटिएको हो ।

ट्रान्सफर्मर चोरी भएपछि सो वडाको विद्युतीय सेवा अवरुद्ध समेत भएको छ ।

त्यस्तै जिल्लाको चन्द्रपुर नगरपालिका– १० बाल्चनपुरमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ । ५० केभी पावरको ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए । सोमबार साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मंगलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए ।

बिजुलीको ट्रान्समिटरभित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ । पछिल्लो समय जिल्लामा चोरीको घटनामा वृद्धि भएको छ । मोटरसाइकलको चोरी पनि बढेको छ । पर्व नजिकिँदै जाँदा चोरीको घटना बढेको पाइएको हो । ठाउँ–ठाउँमा प्रहरीको गस्ती परिचालन भए पनि चोरीको घटनामा वृद्धि हुनु सुरक्षा व्यवस्था कमजोर भएको स्थानीयहरुको गुनासो छ ।

यहाँ कमेन्ट गर्नुहोस्