१६ वैशाखदेखि लागू गरिएको निषेधाज्ञा ५५ दिनपछि आंशिक रूपमा खुल्दै

असाढ़ ७ काठमाडौं__कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा मंगलबारदेखि खुकुलो हुँदै छ। १६ वैशाखदेखि लागू गरिएको निषेधाज्ञा ५५ दिनपछि आंशिक रूपमा खुल्न लागेको हो। तर, निषेधाज्ञा शुरू हुने वेलाको तुलनामा कोभिड–१९ को जोखिम भने घटेको देखिँदैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ७ असारमा कोभिड–१९ बाट देशभर ४६ जनाको ज्यान गयो। जब कि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा शुरू हुनु अघिल्लो दिन १५ वैशाखमा १० जनाको मृत्यु भएको थियो। यस्तै, १५ वैशाखमा ३० हजार सक्रिय संक्रमित थिए भने ७ असारमा त्यो संख्या बढेर ५४ हजार  पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल कोभिड–१९ महामारीको आपतकाल भएको देशकै सूचीमा छ।

नयाँ भेरियन्टको जोखिम 

कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण पनि जोखिम कम भइनसकेको जानकारहरू बताउँछन्। हालै सबै उमेरका व्यक्तिलाई बढी संक्रामक हुने नयाँ भेरियन्टको पहिचान भएको छ। काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी पठाएको ४८ नमुनाको जिनोमिक पहिचान गर्दा ४७ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। उनका अनुसार ती नमुनामध्ये ९ वटामा उत्परिवर्तन भेटिएको छ।

उनी भन्छन्, “यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेरका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ।”

“ठ्याक्कै तथ्यांक त छैन, तर हामीले विगतको गल्ती दोहोर्‍यायौं भने पहिलाभन्दा धेरै जना जोखिममा पर्ने संभावना देख्छु। वैशाख–जेठको जस्तो कहालीलाग्दो अवस्था अहिले छैन, तर बिर्सनै नहुने कुरा के छ भने नयाँ भेरियन्ट पहिलाको भन्दा धेरै संक्रामक छ।” – डा. अनुप बास्तोला

गएको पुस, माघ, फागुनमा भारतमा संक्रमणको दोस्रो लहर बढ्दै जाँदा नेपालको अवस्था लगभग कोरोना मत्थर भइसकेको जस्तो देखिन्थ्यो। स्वास्थ्यकर्मीहरूले सतर्कता अपनाउन त्यतिवेला दिएको सुझावलाई कसैले पनि गम्भीर रूपमा लिएको देखिएन। खासगरी राजनीतिक दलहरूले सभा, भेला जस्ता कार्यक्रमलाई निरन्तरता दिइरहे।

शुरूदेखि नै कोभिड–१९ संक्रमितको उपचारमा संलग्न डा. अनुप बास्तोला निषेधाज्ञा सहज नहुँदै काठमाडौंमा निश्फिक्री हिंडडुल बढ्न थालेको बताउँछन्। “ठ्याक्कै तथ्यांक त छैन, तर हामीले विगतको गल्ती दोहोर्‍यायौं भने पहिलाभन्दा धेरै जना जोखिममा पर्ने संभावना देख्छु,” डा. बास्तोला भन्छन्, “वैशाख–जेठको जस्तो कहालीलाग्दो अवस्था अहिले छैन, तर बिर्सनै नहुने कुरा के छ भने नयाँ भेरियन्ट पहिलाको भन्दा धेरै संक्रामक छ।”

अधिकांश जनसंख्याले कोभिड–१९ विरुद्धको खोप लगाएका देशहरूमा पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेको देखिन्छ। जब कि नेपालमा खोप लगाउनेहरूको संख्या निकै थोरै छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७ असारसम्म २५ लाखले खोपको पहिलो डोज लगाएका छन्। खोपको दुवै डोज लगाउने जम्मा ७ लाख ३१ हजार ६५३ जना छन्। थप खोप कहिले आउँछ भन्ने पनि निश्चित छैन।

जोखिम घटेर निषेधाज्ञा खुकुलो पारिएको हो त?

गृह मन्त्रालयका अधिकारीहरू कोभिड–१९ को जोखिम घटेर भन्दा पनि जनजीवन असहज भएकाले निषेधाज्ञा खुकुलो बनाउनुपरेको बताउँछन्। मानव अधिकारकर्मीहरूका अनुसार निषेधाज्ञा एक किसिमले महामारी नियन्त्रणको निकै कष्टकर र अमानवीय उपाय मानिन्छ।

“अस्पतालका शय्या र अक्सिजन पाउन पहिला जस्तो गाह्रो नहोला तर स्थिति सहज बनेको होइन। वैशाख अन्तिम साता जुन किसिमको सावधानी अपनाएका थियौं, अहिले पनि त्यस्तै सवाधानी आवश्यक छ।” – डा. बाबुराम मरासिनी, जनस्वास्थ्यविद्

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला निषेधाज्ञाले सर्वसाधारणको दैनिकीमा परेको प्रभाव मूल्यांकन गरेर क्रमशः खुकुलो गर्दै जान लागेको बताउँछन्। उनी भन्छन्, “केही हप्ता अझै कडाइ गर्दा संक्रमण कम हुन्छ भन्ने सुझाव नआएको होइन, तर निषेधाज्ञाले जनजीवनमा पारेको प्रभावलाई पनि विचार गरेर क्रमशः सहज बनाउने नीति लिएका हौं।”

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी निषेधाज्ञा कडा भएको वेलामा भन्दा अहिले कुनै पनि हिसाबले अवस्था सहज नभएको बताउँछन्। “अस्पतालका शय्या र अक्सिजन पाउन पहिला जस्तो गाह्रो नहोला तर स्थिति सहज बनेको होइन,” डा. मरासिनी भन्छन्, “वैशाख अन्तिम साता जुन किसिमको सावधानी अपनाएका थियौं, अहिले पनि त्यस्तै सवाधानी आवश्यक छ।”

निषेधाज्ञा नलगाइएका मनाङ र खोटाङ बाहेकका ७५ वटै जिल्लामा सरकारले जोखिमका बीच निषेधाज्ञा बिस्तारै खुकुलो बनाउने नीति लिने देखिन्छ। यस्तो वेला संक्रमण रोक्न सबै सचेत, जिम्मेवार हुनुपर्ने र स्वास्थ्य मापदण्ड पालना गर्न गराउन भूमिका बढाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन्।

सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरामा आमनागरिकको जिम्मेवारी थपिएको डा. अनुप बास्तोला बताउँछन्। उनी भन्छन्, “तपाईंहरू डेढ वर्षसम्म जोगिएर बस्नुभयो भने अब संक्रमित हुने जोखिम किन मोल्नुहुन्छ?”

यहाँ कमेन्ट गर्नुहोस्