लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

साउन १९ बुटवल___ विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने ८० सांसदमध्ये ३४ जनाको हस्ताक्षरसहित विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो। उनले तत्काल उपलब्ध ३४ सांसदहरुको हस्ताक्षर प्रदेश सभामा लगेर अविश्वासको प्रस्ताव दर्ता गरेको बताए।

प्रदेश सभाका ८० सांसदमध्ये मुख्यमन्त्री पोखरेलको पक्षमा नेकपा (एमाले)का ३८ सांसद छन्। सांसद विमला वलीले माओवादी त्यागेर एमाले प्रवेश गरेको भनेपनि प्रदेश सभाबाट त्यसको टुंगो लाग्न बाँकी छ। विपक्षमा कांग्रेसका १९, माओवादीका १८, जसपाका तीन र जनमोर्चाका एक सांसद छन्।

यहाँ कमेन्ट गर्नुहोस्