निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज

साउन १९ काठमाण्डौं ___ निर्वाचन आयोगले ४१ दलको दर्ता खारेज गरिदिएको छ । निर्वाचन आयोगको आज मङ्गलवारकाे बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको हो । खारेज भएका राजनीतिक दलहरूको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ ।

यसरी विभिन्न ४१ दलको दर्ता खारेज भएपछि आयोगमा एक सय ३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहन पुगेको छ । दल दर्ता खारेज भएका ४१ राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूको नाम नामेसी सहितको विवरण छुट्टा–छुट्टै तयार गरी प्रत्येक राजनीतिक दललाई तोकिएको जरिबाना रकम पचास हजार रुपैयाँ असुल गर्ने पनि आयोगले निर्णय गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम आयोगमा दर्ता भएका दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाब–किताब देखिने गरी लेखा राख्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र परीक्षण गराइ एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले पटक–पटक म्याद थप गरेर अवसर दिँदा पनि दलहरूले लेखा परीक्षण नगराएकाले बाध्य भएर दल दर्ता नै खारेज गर्नुपरेको निर्वाचन आयोगले जनाएको छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्