तेस्रो लहर आउन सक्छ‚ स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगरौं : काठमाडौं प्रशासन

साउन १९ काठमाडौँ___  जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड-१९ को तेस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न/नगराउन सूचित गरेको छ । मंगलबार सूचना जारी गरी काठमाडौं प्रशासनले भीडभाडजन्य क्रियाकलाप गर्ने‚ तोकिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने‚ मास्कको उचित प्रयोग नगर्ने‚ भौतिक दूरी कायम नगर्नाले संक्रमणदर उच्च भई तेस्रो लहर आउनसक्ने भन्दै यस्ता कार्य नगर्न सूचित गरेको हो ।

यसका साथै काठमाडौं प्रशासनले पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकालगायतका जिल्लाहरूमा कोरोनाको संक्रमणदर उच्च हुँदै गएको‚ अस्पतालहरूमा भेन्टीलेटर‚ आईसीयू र आकस्मिक सेवाका शय्याहरूमा बिरामीहरूको चाप बढ्दै गएकाले सबैलाई सतर्क रहन सूचित गरेको हो ।

‘निषेधाज्ञा जारी रहेको तथा संक्रमणको दर उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने‚ विभिन्न प्रकारका सभा‚ सम्मेलन‚ धर्ना‚ जुलुस‚ गोष्ठी, र्या लीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने‚ मास्कको उचित प्रयोग नगर्ने‚ भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्नाले कोभिड-१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत यस्ता गतिविधिहरू नगर्न/नगराउन सबै पक्षलाई सूचित गरिन्छ‚’ सूचनामा उल्लेख गरिएको छ ।

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही हुने काठमाडौं प्रशासनले बताएको छ ।

Image

यहाँ कमेन्ट गर्नुहोस्