प्राधिकरणको कार्यकारीमा पुनः कुलमान !

कुलमानको प्रस्ताव ल्याउन उर्जामन्त्रीलाई प्रधानमन्त्रीको आग्रह

२७ भाद्र २०७७, शनिबार
काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका घिसिङलाई नै जिम्मेवारी दिने तयारी गरेका हुन् ।

कुलमानको पहिलो चार वर्षे कार्यकाल भोलि आइतबार पूरा हुँदैछ । त्यसैले भोलि नै मन्त्रीपरषद बैठक राखेर कुलमानलाई नियुक्ति दिने निर्णय गर्ने तयारी भएको जनाइएको छ ।

शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो । बालुवाटार स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले कुलमानलाई नियुक्ति दिने तयारी गर्न उर्जामन्त्री पुनलाई आग्रह गरेका हुन् ।

“प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै नियुक्त गर्ने हो । त्यसका लागि प्रस्ताव ल्याउनुस्,” प्रधानमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्‍यो, “सहमति भैसक्यो, अब कुलमान घिसिङको नियुक्ति हुन्छ ।”

यहाँ कमेन्ट गर्नुहोस्