१३ औँ संस्करणको साफ च्याम्पियन माल्दिभ्समा हुने

साउन २५ काठमाण्डौं ___ १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड १९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो ।

आजको बैठकले नेपालमा कोभिड १९ को अवस्थालाई ध्यान दिँदै साफ च्याम्पियनशिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो । १३ औँ साफमा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले खेल्ने पक्का भइसकेको छ । भुटानले भने तीन दिनभित्र निर्णय दिने एन्फाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्