राजेश हमालको नाममा फिल्म निर्माण हुदैँ, के कस्तो छ तयारी ?

भाद्र १ काठमाडौं___  नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालको नाममा फिल्म निर्माण हुने भएको छ । निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा फिल्म बनाउन लागेका हुन् । फिल्ममा अतिथी भूमिकामा राजेश हमाललाई पनि देखाउने तयारीमा निर्माण टिम छ ।

मौखिक रुपमा नाम प्रयोग गर्ने सहमति भए पनि हमालसंग कागजी सम्झौता हुन बाँकी रहेको निर्माता भुषालले बताएका छन् । विक्रम लामाले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।

निर्माता भुषालले फिल्म राजेश हमालको जीवनीमा आधारित नहुने बताए । उनले भने ‘उहाँको नाम लिएर फिल्म बनाउन लागेका हौं । क्यारेक्टरको मोटिभ पनि उहाँसँग नै मिल्छ । तर, उहाँको जीवनी नै बनाउन लागेका चाहिँ होइनौं ।’ आउँदो भदौ २० गते धनगडीबाट छायांकन सुरु हुन लागेको फिल्ममा अतिथी भूमिकाका लागि अभिनेता आर्यन सिग्देललाई पनि अफर गरिएको छ ।

राजेश हमालको नाममा पहिलो पटक फिल्म बन्न लागेको भने होइन । यसअघि २०११ मा ‘मेरो राजेश दाइ’ नाममा फिल्म बनेको थियो । यसमा उनी स्वयं मुख्य भूमिकामा थिए ।

यहाँ कमेन्ट गर्नुहोस्