कृषि सहायता कोष खडा गरी राहत दिन सरकारसँग माओवादीको माग

कार्तिक ३ काठमाण्डौ___ नेकपा (माओवादी केन्द्र)ले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट मारमा परेका किसानलाई सहायता कोष खडा गरेर राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढी–पहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन विशेष अनुरोध पनि गरेका छन् ।

 

धानबाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको उनले उल्लेख गरेका छन् । “बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु,” विज्ञप्तिमा भनिएको छ । उनले बाढी–पहिरोमा परी बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकायहरू, स्थानीय स्वयंसेवी, विभिन्न संघ–संस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्ताहरूमा विशेष आग्रह पनि गरेका छन् ।

 

पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी–पहिरो र डुबानमा परी प्रदेश नम्बर–१, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्