बाढी-पहिरोमा परी प्रदेश १ मा २४ को मृत्यु, ८ बेपत्ता

कार्तिक ३ विराटनगर___ लगातारको झरीले निम्त्याएको बाढी पहिरोले प्रदेश १ मा हालसम्म २४ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन्। बुधबार बिहान ११ बजेसम्म २४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ६ जना पुरूष, ९ महिला, ७ बालक र २ बालिका रहेको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

 

उनका अनुसार बाढी-पहिरोमा परेर इलाममा ९, पाँचथरमा ६, उदयपुरमा १, धनकुटामा ६, सुनसरीमा २ जनाको मृत्यु भएको हो।प्रदेशमा ८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ का २५ वर्षीय सुवध राई झरनामा नुहाउने क्रममा मंगलबार दिउँसो १ बजे बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा बुधबार बिहान मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

 

बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन्। मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको थियो। मोरङमा करिब पाँच सयभन्दा बढी उद्दार गरिएको छ। मोरङमा हजारौं घर डुबानमा परेका मोरङ प्रहरीले जनाएको छ । विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुबानमा परेको छ। बुढीगंगा गाउँपालिका १ र २, शान्ति चोक बस्ती डुबानमा परेको छ। रतुवामाई नगरपालिका ७ मा ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ। रतुवाखोलाको बाँध फुटेर बस्तीमा खोला पसेको छ।

यहाँ कमेन्ट गर्नुहोस्