ओली विरोधीले ‘महागठबन्धन’ बनाएर चुनावमा गए के होला ?

जेष्ठ १९ काठमाडौं__ यतिबेला नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र ५ पूर्वप्रधानमन्त्रीहरु अर्कोतिर रहेर सत्तासंघर्ष चलिरहेको छ । सत्ताबाट ओलीलाई हटाउने विरोधी गठबन्धनको प्रयास पटक पटक विफल भइरहेको छ । तर, पछिल्लो समय भएका केही चुनावहरुमा ओली समूहले नराम्रो धक्का खाएको छ ।केन्द्रमा सिधा हुने सत्ताको राजनीति र चुनावको राजनीति फरक हुन्छ भन्ने परिणामहरुले देखाएको छ । पत्रकार महासंघको चुनावमा पनि ओली पक्षीय प्रेस चौतारीले नराम्रो हार खायो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहनिकट पत्रकारहरु गठबन्धन बनाएर चुनाव लड्दा ओली समूहका केही पत्रकार मात्र चुनाव जित्न सफल भए ।

राष्ट्रिय सभाको दुईवटा उपनिर्वाचनमा ओली समूहका उम्मेदवार पराजित भए । बागमती प्रदेशमा एमालेको बहुमत मतदाता हुँदाहुँदै बादल पराजित भए । कलम चिन्ह लिएर चुनावमा उम्मेदवार बनेका माधव नेपाल समूहका खिमलाल देवकोटा विजयी भए ।

लुम्बिनीमा माओवादी छाडेर एमालेमै रहेका चन्द्रबहादुर खड्का उम्मेदवार बनेका थिए । तर, उनलाई एमाले छाडेर काँग्रेस प्रवेश गरेका दृगनारायण पाण्डेयले पराजित गरेका थिए । पाण्डेय रुख चिन्ह लिएर उम्मेदवार बनेपनि माधव नेपालसँग निकट छन् । लुम्बिनीमा जसपाको महन्थ ठाकुर पक्षधरले एमाले उम्मेदवारलाई साथ दिएको थियो । बागमतीमा कमल थापा समूहले बादललाई मत दिने निर्णय लिएको थियो । ओलीले ठाकुर र थापाको साथ लिएपनि चुनाव विरोधी गठबन्धनसँग लड्नुपर्दा कठिन हुने देखिएको छ ।

चुनावी नतिजा के होला

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्दा एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ८० जना विजयी भएका थिए ।

गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका २३ उम्मेदवार विजयी भएका थिए । दुवै दलले एक अर्काको उम्मेदवारलाई साथ दिएका थिए । यसैको नतिजास्वरुप दुवै दलले उल्लेख्य संख्यामा प्रत्यक्षतर्फ जीत हासिल गरे । नेपाली काँग्रेस निकै खुम्चियो । उसले प्रत्यक्षतर्फ भन्दा झण्डै दोब्बर बढी समानुपातिकतर्फ सिट ल्यायो ।

२०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए । यसले पनि त्यतिबेला गठबन्धनले ठूलो उपलब्धि हासिल भएको देखिन्छ ।

माओवादीसँगको गठबन्धनले ८० स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले कात्तिक र मंसिरमा चुनाव भएमा यही सफलता हासिल गर्न चमत्कार नै हुनुपर्छ । माओवादीसँगको गठबन्धन तोडिनु र काँग्रेससहित माओवादी र एमालेको माधव नेपाल समेत जोडिएमा एमालेको ओली समूहले चुनावमा कस्तो नतिजा ल्याउला ? चासोको विषय बन्न सक्छ ।

यसअघिको निर्वाचन परिणामलाई आधार मान्दा ओली समूहलाई देशभरका निर्वाचन क्षेत्रमा चुनाव फलामको च्युरा सरह हुनसक्छ । माओवादी केन्द्रसँग मात्र चुनावी सहकार्य नहुने हो भने एमालेले चुनावमा नराम्रो धक्का खान सक्छ ।

विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ८० मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए ।

यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ । त्यसमाथि काँग्रेससँग माओवादी र एमालेको नेपाल पक्षीको भित्री गठबन्धन बनेमा ओलीले झन् ठूलो झड्का खानुपर्ने हुनसक्छ ।

१० हजारभन्दा मतान्तरले जीत हासिल गर्नेमा माधव नेपाल पक्षका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसदहरुको संख्या उल्लेख्य छ । जसमा माधवकुमार नेपाल, झलनाथ खनाल, सोमनाथ पाण्डे, विरोध खतिवडा, मेटमणी चौधरी, कृष्णलाल श्रेष्ठलगायत छन् । यो तथ्यले पनि ओलीलाई चुनावमा चमत्कार देखाउन सजिलो छैन ।

परीक्षण राष्ट्रिय सभा उपनिर्वाचनमा भइसकेको छ । जसमा माधव नेपालका लागि सांसद देखि जनप्रतिनिधिको पद नै दाउमा राखेर मतदान गर्नेहरु खुले । बागमतीमा जस्तै लुम्बिनीमा पनि नेपाल समूहले ओलीलाई नराम्रो धक्का दियो । विगत र वर्तमानलाई नियालेर भविष्यमा ओलीविरोधी चुनावी महागठबन्धन बनेमा नतिजा ओलीले नसोचेको आउन सक्छ । त्यसैले उनले ठूलै चुनावी अस्त्र फाल्नुपर्ने वाध्यता बन्न सक्छ । #श्रोत रिपोर्टर नेपाल

यहाँ कमेन्ट गर्नुहोस्