ओ माइ गड २ लक्षित उमेर समूहका दर्शकले हेर्न पाएनन्

भाद्र ५ एजेन्सी___ बलिउड अभिनेता अक्षय कुमार, पंकज त्रिपाठी र आरूष वर्मा अभिनीत फिल्म ‘ओ माइ गड २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १० दिनमा ११३ करोड ६७ लाख भारू कमाएको छ। फिल्मलाई भारतीय फिल्म समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। यौन शिक्षामा आधारित फिल्म रिलिजअघि विवादमा परेको थियो।

निर्माताहरू यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउँनू भन्ने चाहन्थे। तर सेन्सर बोर्डले फिल्मको २७ दृश्य परिमार्जन गर्दै एडल्ट सर्टिफिकेट दियो। फिल्मले एडल्ट सर्टिफिकेट पाएपछि अभिनेता अक्षय कुमारले सेन्सर बोर्डको निर्णयप्रति आपत्ति जनाएका थिए। ‘किशोरावस्थाका दर्शकलाई लक्षित गरेर बनाएको फिल्म उनीहरूले हेर्न पाएनन्,’ उनले भनेका थिए। फिल्मका कलाकार आरूष वर्माले किशोरावस्थाको हुँदा आफूले फिल्म हेर्न नपाएको भारतीय सञ्चारमाध्यम एएनआईलाई बताएका छन्।

‘मलाई आफ्नो पहिलो फिल्म हलमा हेर्न नपाउँदा दुःख लागिरहेको छ। मलाई थोरै नराम्रो लाग्यो र थोरै रिस पनि उठ्यो,’ उनले भने, ‘यदि सेन्सर बोर्डले कुनै निर्णय गर्छ भने त्यो सबैलाई फाइदा हुने खाल्को हुनुपर्छ। ओ माइ गड २ लक्षित उमेर समूहका दर्शकले हेर्न पाएनन्।’ अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय कुमार, पंकज त्रिपाठी र आरूष वर्मासँगै यामी गौतमको मुख्य भूमिका छ।

यहाँ कमेन्ट गर्नुहोस्