भारतले पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गर्योे

भाद्र २६ एजेन्सी___ भारतले पाकिस्तानमाथि सबैभन्दा ठूलो जित हात पारेको छ । भारतले एकदिवसीय एसिया कपको सुपर–४ खेलमा पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गरेको हो ।यसअघि सन् २००८ मा मिरपुर मैदानमा भारतले पाकिस्तानलाई १४० रनले पराजित गरेको थियो । कोलम्बोको आर प्रेमदासा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले फिल्डिङ रोजेका थिए । कोलम्बोको पिचमा बाबरको निर्णय उनको विरुद्धमा गयो । भारतका तर्फबाट रोहित शर्मा र शुभमन गिलले १२१ रनको ओपनिङ पार्टनरसिप गरे । दुवैले अर्धशतक पनि बनाए । यसपछि विराट कोहली र केएल राहुलले २ सय ३३ रनको साझेदारी गर्दै टोलीको स्कोर ३५६मा पुर्याएका थिए ।

विराट र राहुलले शतक बनाए ।३५७ रनको ठूलो लक्ष्य पछ्याउन पुगेको पाकिस्तानले ४७ रनमा मात्रै ३ विकेट गुमाएको थियो । कप्तान बाबर र ओपनरले खास केही गर्न सकेनन् । इनिङ्सको १८औं ओभरमा बलिङ गर्न आएका कुलदीप यादवले बाँकी ब्याट्सम्यानलाई आफ्नो जालमा पारे । कुलदीपले मात्र २५ रन दिएर ५ विकेट लिए । पाकिस्तानले १२८ रन मात्र बनाउन सक्यो र खेल २२८ रनको कीर्तिमानी अन्तरले पराजित भयो । विराट कोहलीले ८४ बलमा शतक बनाएका थिए । उनले शाहिन अफ्रिदीको बलमा एकल लिएर आफ्नो एकदिवसीय करियरको ४७ औं शतक बनाए ।

तीनवटै ढाँचामा उनको यो ७७ औं शतक थियो, उनले टेष्टमा २९ र टी–२० मा एक शतक बनाएका छन् । कोहलीले इनिङ्सको ९८ औं रन लिने बित्तिकै आफ्नो एकदिवसीय करियरको १३ हजार रन पनि पूरा गरे । उनी भारतका लागि १३ हजार रन बनाउने दोस्रो भारतीय बने । उनीभन्दा सचिन तेन्दुलकरले मात्र बढी रन बनाउन सकेका छन् । एकदिवसीय क्रिकेटमा सचिनको नाममा १८ हजार ४२६ रन छ । केएल राहुलले शतक प्रहार गरे । उनले साढे दुई वर्षपछि एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटबाट शतक बनाए । राहुलले अन्तिम पटक २६ मार्च २०२१ मा इङ्ल्यान्डविरुद्ध १०८ रनको इनिङ खेलेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्