अल्का याज्ञिकले गाएको पहिलो नेपाली गीत ‘मन भए पिरती’ सार्वजनिक

असोज ६ काठमाडौं___  बलिउडकी लोकप्रिय गायिका अल्का याज्ञिकले गाएको पहिलो नेपाली गीत ‘मन भए पिरती’ सार्वजनिक भएको छ । बलिउडका हिन्दी फिल्मका लागि हजारौँ लोकप्रिय गीत गाएकी गायिका अल्काले नेपाली गीत गाएको भने यो पहिलो पटक हो । भारतकै अन्य धेरै जना गायक–गायिकाले नेपाली गीत गाइसकेका छन् । गायिका याज्ञिकले पहिलो नेपाली गीत भारतकै अर्का सुप्रशिद्व गायक अभिजित भट्टाचार्यसँग गाएकी हुन् ।

भट्टाचार्यले दिवंगत अभिनेता स्व. श्री कृष्ण श्रेष्ठको फिल्म ‘कोहिनूर’ मा पार्श्व गायन गरेपछि गाएको यो अर्को नेपाली गीत हो । यो यूगल गीत रिभाइभ एल्बममा समावेश छ । एबी ड्रिम्स क्रिएसन नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतमा मणि शर्मा रिजालको शब्द रचना तथा क्रिश रिजालको संगीत रहेको छ ।

भारतको मुम्बईस्थित एबी स्टुडियो एण्ड साना स्टुडियोमा यो गीत रेकर्ड भएको हो । यो गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र लचु शर्माको अभिनय रहेको छ। भिडियोमा सुरेन्द्रमान सिंहले छायांकन तथा सम्पादन र विशाल गुरुङको निर्देशन रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्