बेलायती प्रधानमन्त्रीका सासू सुधा मूर्ति भारतको राज्यसभामा मनोनीत

फागुन २६ नयाँ दिल्ली___ सुधा मूर्तिलाई राज्यसभामा मनोनयन गरिएको छ। आधिकारिक जानकारी बाहिर आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । सुधा मूर्तिलाई इन्फोसिसका संस्थापक नारायण मूर्तिकी पत्नी र बेलायती प्रधानमन्त्री ऋषि सुनककी सासूका साथै शिक्षक र सामाजिक अभियन्ताको रूपमा पनि चिनिन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो एक्समा लेखेका छन्, ‘भारतका राष्ट्रपतिले सुधा मूर्तिलाई राज्यसभामा मनोनीत गरेकोमा म खुसी छु। सामाजिक कार्य, परोपकार र शिक्षालगायत विभिन्न क्षेत्रमा सुधाजीको योगदान ठुलो र प्रेरणादायी रहेको छ। राज्यसभामा उनको उपस्थिति हाम्रो ‘महिला शक्ति’ को बलियो प्रमाण हो। यो हाम्रो देशको भाग्य निर्माण गर्न महिलाको शक्ति र क्षमताको उदाहरण हो। उहाँको सफल संसदीय कार्यकालको कामना गर्दछु ।‘

७३ वर्षीया सुधा मूर्तिकी छोरी अक्षताले सन् २०२२ देखि प्रधानमन्त्री रहेका सुनकसँग सन् २००९ मा विवाह गरेकी थिइन् । भारतको माथिल्लो सदनका अधिकांश सदस्यहरू निर्वाचित हुन्छन् तर तीमध्ये १२ जना, सामान्यतया उच्च उपलब्धि भएकाहरू, लाई राष्ट्रपतिद्वारा छ वर्षको कार्यकालको लागि मनोनीत गरिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्