सुजिता ठाकुरकाे हत्या प्रकरणमा कामेश्वर पाण्डेयसहित थप तीन जना पक्राउ

साउन १८ महाेत्तरी___ महोत्तरीकी सुजिता ठाकुरकाे हत्या प्रकरणमा उनकै बुबा कामेश्वर पाण्डेयसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुजिताकाे हत्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिनुभयाे ।

प्रहरीले आज जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका मृतक सुजिताका बुबा पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीयवासी प्रमोद मण्डललाई सार्वजनिक गरिएको हो । एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देवर रूपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

‘बाबु कामेश्वर र देवर रूपेशकै मिलोमतोमा सुजिताको हत्या भएकाे खुलेको छ’, आचार्यले भन्नुभयाे, ‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’ पटक–पटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उहाँले बताउनुभयाे । ‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन’, एसपी आचार्यले भन्नुभयाे, ‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’

देवर रूपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ । यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मदत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरिसकेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्