आज तीन हजार तीन सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि

साउन १९ काठमाण्डौं ___ पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार सात सय १८ जनाको पीसीआर–एन्टिजेन परीक्षण गर्दा तीन हजार तीन सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २० प्रतिशतभन्दा धेरै हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६५ हजार आठ सय १५ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६० हजार एक सय १६ जना पुगेको छ ।

यही अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय २२ पुगेको छ । अहिले नेपालमा ३२ हजार ५९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ९८ हजार चार सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित दुई वटै मात्रा खोप लगाउनेको सङ्ख्या २० लाख दुई हजार सात सय तीन र एक मात्रा लगाउनेको सङ्ख्या ४२ लाख ५४ हजार पाँच सय ४० पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्