धनुषाको हिरासत कक्षमा मृत रविदासको घटनामा डिएसपीसहित दुईजनालाई कारबाही

साउन १९ जनकपुरधाम___ जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा मृत फेला परेका पल्टु रविदासको घटनामा डिएसपीसहित दुईजनालाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय तानिएको छ भने सेन्ट्री बसेका प्रहरी जवान जयप्रकाश यादवलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।

प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले घटनाको छानबिनका लागि डिएसपी मिश्रलाई प्रदेश तानिएको र इन्ट्री बसेका प्रहरी जवानलाई निलम्बन गरिएको बताए । घटनामा दोषी नठहरिए उनीहरुको निलम्बन फुकुवा हुने उनले जानकारी दिए । यसैबीच, पीडित परिवारले मृतकको शव बुझ्नसमेत तयार भएको बताइएको छ ।

मृतक रविदासको शव बुझ्न पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको हो । जिल्ला प्रशासन कार्यालयमा मंगलबार दिउँसो पीडित परिवार, दलित अगुवा र अधिकारकर्मी तथा स्थानीय प्रशासनबीच भएको वार्तामा दुईबुँदे सहमति भएको बताइएको छ । घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन टोली गठन गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

मृतककी पत्नीलाई गाउँपालिकामा जागिरका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गर्ने तथा प्रदेश सरकारको तर्फबाट ५ लाख रुपैयाँ तथा संघ सरकारले १० लाख क्षतिपूर्ति दिनुपर्ने पीडित परिवार तथा दलित अगुवाको माग छ । ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दामा थुनामा रहेका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदासको शव साउन १५ गते हिरासत कक्षमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको थियो ।

पल्टुको हत्या गरिएको भन्दै उनका परिवारजनले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन् । उनीहरू घटना भएकै दिनदेखि आन्दोलित बनेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्