बर्दियामा बाढीले १० हजार बढी मेट्रिक टन धानबाली बगायो

कार्तिक ४ बर्दिया___ कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर तथा गेरुवा क्षेत्रमा धानबाली नोक्सान गरेको छ। गाउँ पसेको नदीले किसानले काटेर खेतमा राखेको धानबाली बगाएको हो। घरमा बाढी पसेपछि खेत हेर्न पुगेकी राजापुर नगरपालिका ३ की एक महिलाले आफ्नो खेतको अवस्था देखेर मन थाम्न सकिनन्। खेतमा कर्णाली बगेको र काटेर राखेको धान नदीले बगाएको देखेपछि पीडा सहन नसकी उनी भक्कानिन्छन्। कर्णाली नदीको बाढीले खेतबारीमा काटेर राखेको थन्क्याउने बेलाको धान एकाएक बगाएर नोक्सान भाेगेका राजापुर तथा गेरुवा क्षेत्रका सबै किसानहरुको मन धरधरी रोएको छ। सरकारले भरपुर क्षतीपूर्ति दिनुपर्ने किसानहरुको माग छ।

 

राजापुर नगरपालिकाको १५ सय हेक्टर तथा गेरुवा गाउँपालिकाको १२ सय हेक्टर क्षेत्रफलमा काटिएको धानवाली कर्णाली नदीको बाढीले बगाएको एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए। हामीले प्रारम्भिक अनुमान गरेका हौं। दुवै पालिकाको कृषि शाखाबाट आएको तथ्यांक अध्ययनपछि वास्तविक तथ्यांक आउँछ। उनले भने राजापुरमा अनुमानित ६ हजार मेट्रिक टन तथा गेरुवामा ४ हजार ८ सय मेट्रिक टन गरी करिव १० हजार ८ सय मेट्रिक टन धान बाढीले बगाएको हाम्रो अनुमान छ ।

 

जिल्ला प्रशासन कार्यालय बर्दियाको प्रारम्भिक तथ्यांक अनुसार कर्णाली नदीको बाढीले राजापुर नगरपालिकाको दौलतपुर, चनौरा, नंगापुर, चख्खापुर, तिघ्रा लगायताका वस्ती तथा खेलहरुमा पसेर नोक्सानी गरेको छ। त्यस्तै गेरुवा गाउँपालिकाको सनकट्टी, बनकट्टी, राजीपुर लगायतका क्षेत्रहरुका खेतमा काटेर राखेको धान बगाएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए।

यहाँ कमेन्ट गर्नुहोस्