चकचक गरेको भन्दै विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक पक्राउ

कार्तिक ५ हेटौँडा___ चकचक गरेको भन्दै विद्यार्थीलाई निर्घात कुट्ने एक शिक्षकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौँडा ५ मा रहेको सिद्धार्थ शिशु सदन माविमा कक्षा ७ मा अध्ययनरत अभिनव अधिकारीलाई निर्घात कुटपिट गर्ने शिक्षक केशव दाहाललाई प्रहरीले विद्यालय परिसरबाटै पक्राउ गरेको हो ।

 

१५ दिन अघि स्वास्थ्य विषय पढाउने दाहालसहित अन्यले अभिनवलाई चकचक गरेको भन्दै शरीरमा नीलडाम हुने गरी कुटेका थिए ।निर्घात कुटपिट गर्ने शिक्षक दाहालले माफी माग्नुपर्ने भन्दै अभिनवका अभिभावकले विद्यालयसमक्ष अनुरोध गरे पनि विद्यालयले गुनासो नसुनेपछि प्रहरीलाई खबर गरेको पीडित पक्षको भनाई छ ।

 

अभिनवको आमा लक्ष्मी अधिकारी सोही विद्यालयको मन्टेश्वरी कक्षामा अध्यापन गर्दै आएकी थिइन् । तर, घटनालाई ढाकछोप गर्ने उद्देश्यले विद्यालयले उनलाई जागिरबाट समेत हटाएको पीडित पक्षको गुनासो रहेको छ । विद्यार्थीलाई निर्घात कुट्ने दाहाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले प्रहरी कार्यालय लगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्