नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आज इराक जाँदै

११ जेठ काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट र एसियन कप-२०२३ छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली मगंलबार इराक प्रस्थान गर्दैछ ।

२३ खेलाडी र १२ जना अफिसियल गरी ३५ सदस्सीय नेपाली टोली आज राति इराक प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

नेपाली टोली कतार एयरवेजबाट राति १० बजे इराक जानेछ । नेपाली टोलीसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार शिलवाल पनि सँगै जानेछन् ।

नेपाली टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने एन्फाले यसअघि नै बताइसकेको छ।

नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते हुने मैत्रीपूर्ण खेल हुँदैछ। जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जानेछ । कुवेतमा नेपाली टोलीले विश्वकप र एसिया कप छनोटको खेल खेल्नेछ । नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।

यसअघि घरेलु मैदानमा खेल हुने तय भए पनि कोरोना भाइरसको महामारीका कारण न्युट्रल भेन्युका रूपमा कुवेतमा खेल हुन लागेको हो।

इराक जानुअघि गरिएको कोरोना भाइरसको पीसीआर परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

अंक तालिकामा नेपाल ३ अंकका साथ चौथो स्थानमा छ। नेपालले ५ खेलमा १ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको चाइनिज ताइपेइले अंक जोड्न सकेको छैन। अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ।

अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ।

यहाँ कमेन्ट गर्नुहोस्